काठमाडौं, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धिदरलाई ध्यानमा राख्दै प्रसूति बिदालाई प्रोत्साहन गर्ने व्यवस्था प्रस्ताव गरिएको बताएकी छन्।
प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ प्रस्तुत गर्दै मन्त्री मेहताले यस्तो जानकारी दिएकी हुन्।
प्रस्तावित विधेयकमा महिला कर्मचारीलाई सुत्केरीअघि र पछि गरी ६ महिनासम्म तलबसहितको प्रसूति बिदा दिने व्यवस्था गरिएको छ। हाल कायम ९० दिनको बिदालाई बढाएर ६ महिना बनाउन प्रस्ताव गरिएको हो। त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई हालको १५ दिनबाट बढाएर ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव छ।
विधेयकले सुरक्षित तथा गुणस्तरीय मातृत्व र प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्ने, तालिमप्राप्त प्रसूतिकर्मीबाट सेवा उपलब्ध गराउने तथा सुत्केरी महिलामाथि हिंसा रोक्ने व्यवस्था पनि समेटेको छ।
यसैगरी, विशेष अवस्थामा गरिने गर्भपतन तथा जबर्जस्ती गर्भपतनसम्बन्धी प्रावधान संशोधन गरी कसुर र सजायको व्यवस्था थप गर्ने प्रस्ताव गरिएको मन्त्री मेहताले बताइन्।














