धनुषा, ८ असोज । मधेश प्रदेशमा सञ्चालित अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित, मर्यादित र अभिलेखबद्ध गर्ने उद्देश्यले मिडिया काउन्सिल, मधेश प्रदेशले १५ दिनभित्र सूचीकृत हुन आह्वान गरेको छ।
काउन्सिलले सूचना जारी गर्दै आमसञ्चार प्राधिकरण तथा सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन न्यूज पोर्टललाई आवश्यक कागजातसहित काउन्सिलमा सूचीकृत हुन आग्रह गरेको हो। यसअघि नै काउन्सिलमा सूचीकृत भइसकेका सञ्चार माध्यमले भने पुनः सूचीकृत हुनुपर्ने छैन।
अनलाइन माध्यमबाट प्रकाशित सामग्रीबारे उजुरी बढ्दै गएपछि पत्रकार आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन सूचीकृत प्रक्रिया अघि बढाइएको कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाले बताउनुभयो। साथै, प्रदेशका आठवटै जिल्लामा अनलाइन सञ्चार माध्यमको अनुगमनका लागि जिल्ला अनुगमन समिति गठन गर्ने कार्यविधि अन्तिम चरणमा रहेको काउन्सिलले जनाएको छ।














