काठमाडौं, ७ असोज। काठमाडौंको वसन्तपुर दरबार स्क्वायरबाट धार्मिक विधिपूर्वक लिङ्गो ठड्याउँदै इन्द्रजात्रा सुरु भएको छ।
भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने परम्परा छ। आठ दिनसम्म मनाइने इन्द्रजात्रामा विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरिन्छ।
जात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्रा तथा लाखे, महाकाली, भक्कुनाच, दशअवतार र पुलुकिसी नाच प्रदर्शन गर्ने परम्परा छ।
इन्द्रजात्राको आठौँ दिन आश्विन कृष्ण चौथीमा लिङ्गो ढालेर जात्रा समापन गर्ने विधान छ। नेवारी समुदायले काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा यो पर्व मनाउने गर्छन्।














