न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपाललाई तत्काल अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउन अपिल गरेका छन्।
मन्त्री खनालले बाढीपहिरोबाट भएको क्षति पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनाका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको भन्दै अनुदान तथा सहुलियतपूर्ण वित्तीय सहयोग माग गरे। उनले समयमै प्राप्त हुने सहयोग जोखिममा रहेका मुलुकका लागि ‘जीवनरेखा’ भएको बताए।
नेपालले विश्वव्यापी उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असमान असर भोगिरहेको उल्लेख गर्दै उनले भोटेकोशी विपद्लाई हिमालयबाट आएको चेतावनीका रूपमा लिनुपर्ने बताए। साथै, हानि–नोक्सानी कोषबाट शीघ्र सहयोग र जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आग्रह गरे।














