विराटनगर, ८ असोज । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कोशी प्रदेश सरकारले सम्भावित विपद्को पूर्वतयारी थालेको छ।
मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिएपछि प्रदेशका १४ वटै जिल्लामा उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले जोखिमयुक्त सडक, पुल तथा अन्य संरचनामा निगरानी बढाउँदै आवश्यक मेसिन तथा उपकरण तत्काल परिचालन गर्न निर्देशन दिएको छ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ।
प्रदेश सरकारले जोखिमयुक्त बस्तीमा पूर्वसूचना पुर्याउने काम तीव्र बनाएको छ भने विराटनगर महानगरपालिकाले सम्भावित डुबान क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सचेत गराइरहेको छ।














