काठमाडौँ, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमा भावुक हुँदै रोएकी छन्। उनले दुर्गा प्रसाईँले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै गरेको आरोपप्रति आपत्ति जनाइन्।
संसदमा बोल्दै खतिवडाले जेनजी आन्दोलनका शहीद र पीडित परिवारले न्याय पाउनुपर्ने उद्देश्यले आफू सांसद बनेको बताइन्। शहीदहरूले पूर्ण न्याय पाए आफू तत्काल सांसद पदबाट राजीनामा दिन तयार रहेको उनको भनाइ छ।
आफ्नो छोरा गुमाएको पीडा स्मरण गर्दै उनले भनिन्, ‘कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु।’
उनले आफू मेडिकल माफिया बन्न नभई सरकारलाई गलत बाटोमा जानबाट खबरदारी गर्न संसदमा आएको स्पष्ट पारिन्।














