काठमाडौं, ५ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावका क्रममा मधेस तथा उत्पीडित समुदायसँग गरेका प्रतिबद्धता कार्यान्वयन गराउन दबाबमूलक अभियान सञ्चालन गर्ने भएको छ।
अध्यक्ष महतोले केन्द्रीय कार्यकारिणी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संघीयताको पूर्ण कार्यान्वयन, प्रहरी समायोजन, निजामती ऐन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदेश राजधानी तथा काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने उल्लेख छ। माग पूरा नभए प्रदेशसभा र संघीय संसद् घेराउसम्मका कार्यक्रम अघि बढाउने जनाइएको छ।
पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन अभियान चलाउने निर्णय पनि प्रस्ताव गरेको छ। स्थानीय तहलाई दलगत प्रभावबाट मुक्त गरी नागरिक केन्द्रित बनाउन कानुनी तथा संवैधानिक संशोधनको माग गर्ने उसको योजना छ।
यस्तै, चुरे संरक्षणका लागि ‘चुरे बचाउ, मधेस र जीवन जोगाउ’ अभियान सञ्चालन गर्ने, युवालाई डिजिटल प्लेटफर्ममार्फत संगठनमा जोड्ने तथा विभिन्न समुदायसँग सहकार्य गर्दै ‘राष्ट्रिय पुनर्जागरण अभियान’ अघि बढाउने प्रतिवेदनमा उल्लेख छ। कार्यकारिणी बैठकमा उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ।














