काठमाडौं, ५ असोज । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै गरेको न्यूनचापीय प्रणाली थप सक्रिय बन्दै गएपछि आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षा, चट्याङ र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।














