काठमाडौं, १७ भदौ। गत बुधबारको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले मृतकका परिवारलाई आर्थिक सहयोगसँगै दिवंगत प्रहरीले लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरेको हो।
परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गरिनेछ भने सन्ततिलाई निश्चित तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराइनेछ।
बाढीमा बेपत्ता प्रहरीको खोजीका लागि विशेषज्ञसहितको टोली परिचालन गर्ने तथा प्रभावित प्रहरी इकाइका कर्मचारीलाई व्यक्तिगत सामग्रीको क्षतिबापत जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ।
त्यस्तै, बाढीबाट भएको क्षतिको राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।














