काठमाडौं, ३ भदौ । सरकारले सार्वजनिक निकायबाट हुने खरिदमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीसँगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश, स्थानीय तह र विदेशस्थित नेपाली नियोगलाई स्वदेशी वस्तु तथा सेवा प्रयोग गर्न आग्रह गरेको हो ।
कार्यालयले जारी गरेको पत्रमा स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन तथा सरकारी बैठक, समारोह र कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न भनिएको छ ।
त्यस्तै, बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ ।
सरकारले यसबाट स्थानीय उद्यम र सीपको प्रवद्र्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।














