विराटनगर, १२ साउन । सुनसरी जिल्लामा हिंसात्मक घटनापछि जारी गरिएको अनिश्चितकालीन कफ्र्यु आदेश हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कफ्र्यु आदेश आज बिहान १२ः१५ बजेदेखि हटाइएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-१) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा लगाइएको प्रतिबन्ध पनि कफ्र्यु हटेसँगै समाप्त भएको छ ।
यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका–३ र ६ अन्तर्गत महेन्द्र राजमार्गको घोपाली टोलदेखि पश्चिम कोशी ब्यारेज पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रलाई समेटेर कफ्र्यु आदेश जारी गरेको थियो ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि उक्त क्षेत्रमा कफ्र्यु लागू गरिएको थियो ।














