काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै डिजिटल वालेट खोल्ने र प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ ।
संशोधित व्यवस्थाअनुसार अब नेपाली नागरिकले वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ ।
साथै, २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ । राष्ट्र बैंकले सोही अवधिभित्र वालेट सेवा प्रदायकलाई प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रको विवरणबारे स्वघोषणा लिन पनि निर्देशन दिएको छ ।
विदेशमा रहेका नेपालीले भने अनलाइनबाट वालेट खोल्न सक्ने व्यवस्था यथावत् रहनेछ भने नेपाल फर्किएको छ महिनाभित्र परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।
अशक्त तथा असहाय नागरिकका लागि अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्ने सुविधा कायम राखिएको छ ।














