जनकपुर, ७ साउन। नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द कुमार साहले आफूले ऋण लिएको स्वीकार गर्दै सावाँ–ब्याजसहित रकम तिर्न तयार हुँदाहुँदै पनि साहू पक्षबाट सुनियोजित रूपमा ठगीको शिकार बनाइएको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघ धनुषामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले आफूले २०७९ वैशाख २३ गते ९९ लाख रुपैयाँ ऋण लिएको र त्यसबापत करोडौं मूल्यको जग्गा कब्जा गर्ने योजना बनाइएको दाबी गरे।
उनले भने, “९९ लाख ऋण लिने बेला नै त्यो जग्गाको मूल्य १५ करोडभन्दा बढी थियो। कसैले आफ्नो करोडौंको जग्गा ९९ लाखमा बेच्दैन। ऋण लिएको हुँ, तिर्छु, तर अन्याय गर्नु भएन नि।”
साहका अनुसार ऋण लिने क्रममा घरधनी महल खाली राखेर ५०/५० लाख रुपैयाँका दुई थान कपाली कागजात बनाउन लगाइएको थियो। त्यसैगरी सानिमा विकास बैंकको हस्ताक्षर मात्र भएको तीन थान खाली चेकसमेत लिइएको उनले बताए।
उनले ऋण लिएको आठ महिनामै आफूले धितो राखेको सोही जग्गालाई आधार बनाएर कृषि कम्पनीको नाममा बैंकबाट चार करोड रुपैयाँ ऋणसमेत उठाइएको आरोप लगाए।
साहले आफू पटक–पटक सावाँ–ब्याज बुझाउन जाँदा पनि साहू पक्षले विभिन्न बहाना बनाएर रकम नबुझेको दाबी गरे। उनले आफ्नो ऋणको विषय स्थानीय बासिन्दा, व्यवसायी तथा जनप्रतिनिधिसमेत जानकार रहेको उल्लेख गर्दै आफू ऋण तिर्न तयार भए पनि अन्यायपूर्ण व्यवहार स्वीकार गर्न नसक्ने बताए।
पत्रकार सम्मेलनमा उनले जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी गोपाल साह, उनका भतिज हरेराम साह, भाउजू रेखा कुमारी साह तथा दाइ बलराम साहले योजनाबद्ध रूपमा ठगी गरेको आरोप लगाए। यस विषयमा आफूले कानुनी लडाइँ जारी राखेको उल्लेख गर्दै अदालतमा विचाराधीन रहेका प्रमाण सार्वजनिक गर्न नमिल्ने बताए।
साहले उच्च अदालत जनकपुरधामले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरी प्रहरी अनुसन्धानलाई सहज बनाउनुपर्ने धारणा पनि राखे।
यसैबीच, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी मुद्दामा बलराम साह फरार रहेका छन् भने पक्राउ परेका गोपाल साह, हरेराम साह र रेखा कुमारी साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीका अनुसार हरेराम साहको कार्यालयबाट विभिन्न कृषि कम्पनीका कागजात, लालपुर्जा, नक्सा तथा स्टाम्प बरामद गरिएको छ।
उनीहरू पक्राउ परेदेखि नै मिटरब्याज पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत धनुषा अगाडि निरन्तर प्रदर्शन गर्दै आएको छ।
साथै, गोपाल साहविरुद्ध अन्य मिटरब्याज पीडितहरूले पनि जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै जाहेरी दर्ता गराएका छन्।














