काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक सुदृढीकरण अभियानअन्तर्गत देशभरका जिल्ला अधिवेशन आज र भोलि सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय समितिको निर्णयअनुसार शनिबार र आइतबारको सार्वजनिक बिदालाई लक्षित गर्दै अधिवेशन आयोजना गरिएको पार्टीले जनाएको छ । रास्वपाले तदर्थ समिति गठन भएका जिल्लाहरूमा दुई दिन लगाएर अधिवेशन सम्पन्न गर्न लागेको हो । पहिलो चरणमा आज शनिबार ३६ जिल्लामा अधिवेशन हुँदैछ ।
आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी, मधेश प्रदेशका महोत्तरी र रौतहट, बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन आयोजना गरिएको छ ।
,त्यसैगरी गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालीकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन हुँदैछ ।
भोलि आइतबार बाँकी २९ जिल्लामा अधिवेशन हुने कार्यक्रम छ। कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका चितवन र ललितपुरमा अधिवेशन हुने छ । यस्तै गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आइतबार अधिवेशन आयोजना गरिएको छ ।
बारा जिल्लामा भने आन्तरिक विवादका कारण जिल्ला अधिवेशन जेठ २६ गतेका लागि सारिएको रास्वपाले जनाएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः आयोजना गरिने पार्टीले जनाएको छ । पार्टीका महामन्त्री कबीन्द्र बुर्लाकोटीका अनुसार यही जेठ २६ गतेदेखि सातवटै प्रदेशको प्रदेश अधिवेशनसमेत सुरु हुनेछ।














