काठमाडौं, ३ जेष्ठ । काठमाडौंस्थित केन्द्रीय कारागार सुन्धारा बाट जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला कैदीबन्दी फरार भएकी छन् ।
नुवाकोटको विदुर नगरपालिका–१३ की २५ वर्षीया सपना तामाङ शुक्रबार राति कारागारको पर्खाल नाघेर भागेको जेलर कृष्ण चापागाईँले जानकारी दिए ।
अपहरण, शरीरबन्धक, कर्तव्य ज्यान र डाँकाचोरी मुद्दामा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भएकी तामाङ २०७७ पुस १६ गते पक्राउ परेकी थिइन् ।
उनलाई फागुन ४ गते सुन्धारा कारागार ल्याइएको थियो । कारागार प्रशासनले भने उनी फरार भएको घटना करिब १५ घण्टापछि मात्रै थाहा पाएको थियो।
कैदीबन्दी गणनाका क्रममा संख्या कम भएपछि सीसीटीभी जाँच गर्दा उनी पर्खाल नाघेर भागेको देखिएको हो । घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ भने फरार तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














