जनकपुर, १ जेठ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लाल बाबु राउत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंह एकै ठाउँमा देखिएका छन्।
जनकपुरधामस्थित रामानन्द चोकको एक चिया पसलमा दुवै नेताबीच समसामयिक राजनीति, मधेशको विकास र जनअपेक्षाबारे अनौपचारिक छलफल भएको बताइएको छ।
चिया गफका क्रममा सांसद सिंहले मधेश प्रदेशलाई आगामी पाँच वर्षभित्र विकासको नयाँ मोडमा पुर्याउने गरी विशेष “डेभलपमेन्ट प्याकेज” आवश्यक रहेको धारणा राखेका थिए।
उनले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा केन्द्रित योजनामार्फत मधेशको मुहार फेर्न सकिने बताएका छन्।
सिंहले मधेशमा अझै पनि आधारभूत पूर्वाधार, उद्योग र रोजगारका क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गर्दै अब विकासलाई राजनीतिक नाराभन्दा माथि उठाएर व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
पूर्वमुख्यमन्त्री राउतले पनि मधेशको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थानीयवासीले भने दुई प्रभावशाली नेताको चिया पसलमा भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरेका छन्।














