काठमाडौं, १२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न १५ बुँदे शान्ति प्रस्ताव अघि सारेका छन्, जसमा युद्धविरामदेखि आणविक कार्यक्रम नियन्त्रणसम्मका विषय समेटिएका छन् ।
उक्त प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पु¥याइएको जनाएको छ । यद्यपि इरानले अमेरिकासँग औपचारिक वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आएको छ ।
इरानी पक्षले अमेरिकासँग विश्वासको अभाव रहेको भन्दै प्रत्यक्ष सम्झौतामा चासो नदेखाएको संकेत दिएका छन् । प्रस्तावमा ३० दिने युद्धविराम, इरानको आणविक गतिविधिमा कडाइ, प्रतिबन्ध हटाउने व्यवस्था तथा क्षेत्रीय तनाव घटाउने उपायहरू समावेश छन् ।
तर यी सर्तहरू इरानका लागि संवेदनशील भएकाले सहमति जुट्न कठिन देखिएको छ । युद्धका कारण क्षेत्रीय अस्थिरता बढ्नुका साथै तेलको मूल्य र विश्व अर्थतन्त्रमा असर परेको छ ।
यस्तो अवस्थामा विभिन्न देशहरूको मध्यस्थतामा वार्ताको प्रयास भइरहे पनि दुवै पक्षका अडान फरक हुँदा तत्काल सम्झौता हुने सम्भावना अनिश्चित देखिएको छ ।














