काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा राजनीतिक दल, उम्मेदवार तथा विभिन्न व्यक्ति–संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार माघ ५ गतेदेखि लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनपछि माघ १४ गतेसम्म यी स्पष्टीकरण सोधिएका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म पाँच वटा मात्रै जवाफ प्राप्त भएका छन् भने बाँकीका लागि ताकेता भइरहेको छ ।
आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन अधिकृत पनि तोकेको छ । आयोगले मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिको निगरानीका लागि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ ।
सो केन्द्रअन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाईले पहिचान गरेका ३०२ हानिकारक सूचना सम्बन्धित कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।














