जनकपुर, ११ माघ । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा आज दिउँसो १:४५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ । आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशको एक पदमा निर्विरोध भइसकेको छ भने बाँकी १७ पदका लागि मतदान भइरहेको छ।
कोसी प्रदेशको खस–आर्यतर्फ नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा जारी छ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्। कूल २ हजार ५६ मतदातामध्ये हाल २ हजार ११ मतदाता कायम छन् ।














