काठमाडौं, १० माघ। नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आइतबार सर्लाही–४ जाने भएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका थापा आफ्नै निर्वाचन क्षेत्रमा पुगेर चुनावी गतिविधि सुरु गर्न लागेका हुन्।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा उनले उम्मेदवारका रूपमा पहिलोपटक क्षेत्र जान लाग्दा उत्साहित रहेको बताए।
थापाले युवाको भरोसामै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ बाट चुनाव लड्ने निर्णय गरेको उल्लेख गरे। उनले युवालाई निर्वाचनका बेला सर्लाही पुगेर अभियानमा सक्रिय हुन आग्रह गर्दै आफ्नो जितको आधार युवाको साथ र विश्वास हुने बताए।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको छ।














