झापा, ८ माघ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज बिहान इलाम पुगेका छन् ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बालेन इलाम पुगेर पार्टीका उम्मेदवारहरूसँग भेटघाट तथा छलफलमा सहभागी भएका हुन् । इलाम बजारमा भेट गरी स्थानीय राजनीतिक अवस्था, चुनावी रणनीति र प्रचार–प्रसारका विषयमा छलफल गरेका छन्।
भेटका क्रममा उनले पार्टीका उम्मेदवारलाई एकजुट भएर मतदातामाझ पुग्न आग्रह गर्दै परिवर्तनको एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए ।
रास्वपाले पूर्वी पहाडी जिल्लामा संगठन विस्तार र जनसमर्थन बढाउने उद्देश्यसहित नेताहरूलाई सक्रिय रूपमा फिल्डमा उतारेको जनाएको छ ।
बालेनको इलाम भ्रमणले त्यहाँका कार्यकर्ता तथा समर्थकहरूमा थप उत्साह बढाएको बताइएको छ ।














