काठमाडौं, ७ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा दर्ता भएका १८ उम्मेदवारमध्ये एक जना पनि महिला वा दलित छैनन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १४ जना जनजाति पुरुष र ४ जना खसआर्य पुरुषको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१४ राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवार रहे पनि कुनै दलले महिला वा दलितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छैनन् । महिला तथा दलित अधिकारकर्मीहरूले यसलाई राजनीतिक दलको उपेक्षा र समावेशी सिद्धान्तप्रतिको बेवास्ता भएको बताएका छन् ।
दलका स्थानीय नेताहरूले भने टिकट वितरण केन्द्रको अधिकार भएकाले जिल्लाबाट केही गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।














