काठमाडौं, ६ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष र तटस्थ भएर आगामी निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कुनै पनि राजनीतिक पक्षको पक्षधरता नलिने स्पष्ट पारे।अर्यालका अनुसार संवैधानिक व्यवस्थाअनुसार संसद विघटनपछि ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने दायित्वअनुसार सरकार अघि बढेको छ ।
उनले फागुन २१ गते तोकिएको निर्वाचन मिति कुनै हालतमा नसर्ने बताए, यद्यपि हिमपातजस्ता आकस्मिक कारणले केही स्थानमा मात्र निर्वाचन स्थगित हुन सक्ने उल्लेख गरे ।
शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय निर्वाचनका लागि सुरक्षा तयारी पूरा रहेको र प्रहरीको मनोबल उच्च रहेको पनि उनले जानकारी दिए ।














