काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको संसदीय बोर्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट सचिन तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
लामो समयदेखि यस क्षेत्रबाट निर्वाचित हुँदै आएका कांग्रेस नेता गगनकुमार थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय गरेपछि काठमाडौं–४ मा नयाँ उम्मेदवार अघि सारिएको हो।संसदीय बोर्डको बैठकले थापानिकट मानिने तिमिल्सिनालाई काठमाडौं–४ को उम्मेदवारका रूपमा अघि सारेको हो ।
पार्टीभित्र संगठन सुदृढीकरण र आगामी निर्वाचनमा निरन्तरता कायम गर्ने रणनीतिअनुसार उनलाई टिकट दिइएको नेताहरूले बताएका छन् ।
काठमाडौं–४ कांग्रेसका लागि प्रभावशाली र चुनौतीपूर्ण क्षेत्र मानिन्छ। गगन थापाले यस क्षेत्रबाट लगातार जित हासिल गर्दै आएका कारण कांग्रेसको बलियो पकड रहेको क्षेत्रका रूपमा चिनिन्छ ।
थापाको क्षेत्र परिवर्तनसँगै पार्टीले त्यही राजनीतिक आधार जोगाउने उद्देश्यले तिमिल्सिनालाई उम्मेदवार बनाएको विश्लेषण गरिएको छ ।














