जनकपुर, ५ माघ । विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन्।
जनकपुरधाममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “आज तपाईंहरूको भाषण सुन्ने मुड छैन जस्तो देखिरहेको छु । म भाषणभन्दा काम गरेर देखाउने मान्छे हुँ ।
मलाई काम गर्न दिनुहोस्, काठमाडौं महानगरवासीले जस्तै यहाँका जनताले पनि काम गर्न दिनुहोस् । करिब डेढ महिना अघि रामजानकी विवाह महोत्सवमा जनकपुर आएको स्मरण गर्दै उनले मिथिलाको पर्यटन सम्भावनालाई सरकारले बेवास्ता गरेको गुनासो गरे ।
“जहाँ भगवान राम र जानकीको विवाह भयो, त्यहीँ ‘डेस्टिनेशन वेडिङ’ किन हुँदैन? हामी किन जयपुर र बाली जान्छौं?” भन्दै उनले मिथिलाको व्यवस्थापन, सरसफाइ र पूर्वाधार नबढाइनु सरकारको गलत नीतिको परिणाम भएको बताए ।
उनले मधेशमा पहिलोपटक सबै जातजातिका मानिसहरू एकै ठाउँमा देखिएको उल्लेख गर्दै यसलाई सकारात्मक राजनीतिक संकेतको रूपमा व्याख्या गरे ।
“मधेशको विकास जनकपुर बोर्ड जस्तै हुनुपर्छ, जहाँ सबै जात खुसी हुने र सबैको समान विकास हुने व्यवस्था होस्,” उनले भने । प्रदेश संरचनाबारे प्रष्ट धारणा राख्दै बालेन शाहले प्रदेशलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
“प्रदेशको काम एउटा वडामा ५० हजारको धारा जडान गर्ने होइन, कम्तीमा तीन–चारवटा पालिकालाई जोड्ने योजना बनाउनु हो,” उनले भने । जनकपुर प्रदेशको राजधानी हुँदाहुँदै पनि सामान्य प्रशासनिक कामका लागि काठमाडौं जानुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले अधिकारका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था चाहिने बताए ।
काठमाडौं महानगरपालिकाको मेयरको रूपमा करिब चार वर्ष काम गरेको अनुभव सुनाउँदै उनले माइतीघरमा हुने उखु किसान र मिटरब्याज पीडितको आन्दोलन आफूलाई सधैं पोल्ने गरेको बताए। “म मेयर भएर सबै समस्या समाधान गर्न नसके पनि पीडितलाई भेट्न त सक्छु,” उनले भने। काठमाडौंबाट ३५ वटा पालिकाका लागि एम्बुलेन्स व्यवस्था गर्न सकेको उदाहरण दिँदै संघ सरकारमा पुगे अझ ठूलो काम गर्न सक्ने दाबी गरे ।
समाजवाद र लोकतन्त्रबारे चर्चा गर्दै उनले काठमाडौं महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिने, महँगा कलेज र अस्पतालमा विपन्नका लागि निःशुल्क सेवा उपलब्ध गराउनु नै वास्तविक समाजवाद भएको बताए। “यही समाजवाद सातै प्रदेश र ७५३ वटै पालिकामा लागू हुनुपर्छ,” उनले जोड दिए ।
मिथिला क्षेत्रका मन्दिर, पोखरी, पाटीपौवा र सांस्कृतिक सम्पदाको संरक्षणप्रति चासो देखाउँदै उनले रास्वपाले यस क्षेत्रमा संरक्षण र विकासको जिम्मा लिने प्रतिबद्धता व्यक्त गरे ।
भारतको अयोध्यामा वार्षिक १० करोड पर्यटक पुग्ने उदाहरण दिँदै उनले जनकपुर र जानकी मातासँग मात्रै एक करोड पर्यटक आकर्षित गर्ने क्षमता रहेको बताए । “पर्यटन विकास गर्न सकियो भने मधेश र देश दुवै समृद्ध हुन्छ,” उनले भने ।














