काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख महिनामा गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिकालाई औपचारिक स्वीकृति दिएको हो ।
बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि कार्यसम्पादन समितिले पारित गरेको निर्णयलाई अनुमोदन गरेको एक केन्द्रीय नेताले जानकारी दिए । अनुमोदित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद, नेतृत्व चयन र संगठन सुदृढीकरणका विषयलाई ध्यानमा राख्दै महाधिवेशनको मिति तय गरिएको नेताहरूको भनाइ छ । केन्द्रीय समितिको अनुमोदनसँगै महाधिवेशन तयारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
उता, काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।














