काठमाडौं, १३ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट गरेका छन् ।
उनले पार्टीले आफ्नै सिद्धान्त र विचारका आधारमा स्वतन्त्र रूपमा राजनीति गर्ने जनाए । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले वर्तमान राजनीतिक वातावरणमा विभिन्न किसिमका अड्कलबाजी भइरहेको उल्लेख गर्दै आफ्नो पार्टी मिस्रित वा समझौतामूलक राजनीतिमा नलाग्ने धारणा व्यक्त गरेका छन् ।
उनले श्रम संस्कृति पार्टीले मौलिक र स्वदेशी सोचमा आधारित राजनीति अघि बढाउने दाबी गरेको छ । उनले श्रम, माटो र जनताको पसिनासँग जोडिएको राजनीतिमा पार्टी प्रतिबद्ध रहेको बताउँदै अरू दलसँग मिलेर जाने सम्भावना नरहेको स्पष्ट पारे । जसलाई जहाँ उपयुक्त लाग्छ, उनीहरूले त्यही निर्णय गर्न सक्ने भए पनि आफ्नो पार्टी भने आफ्नै बाटोमा हिँड्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति सार्वजनिक भएको केही घण्टापछि साम्पाङको यो प्रतिक्रिया आएको हो । उनले पार्टीलाई लिएर फैलाइएका अनुमानप्रति प्रतिक्रिया जनाउँदै कार्यकर्ता तथा शुभेच्छुकहरूलाई कुनै भ्रममा नपर्न आग्रह गरका छन् ।
उनका अनुसार श्रम संस्कृति पार्टीले देशको मौलिकता, स्वदेशी विचार र आत्मनिर्भरताको पक्षमा दृढतापूर्वक राजनीति गर्नेछ र यस मार्गमा कुनै सम्झौता नहुनेछ ।














