काठमाडौँ, ७ पुस । मिराज ढुंगाना समूहले माइतीघर केन्द्रित प्रदर्शन गर्ने घोषणा गरेपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्भावित प्रदर्शन र अवाञ्छित गतिविधि रोक्न माइतीघर मण्डला आसपास ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायले सवारी आवागमन, पैदल यात्री तथा सार्वजनिक गतिविधिमा समेत निगरानी बढाएको छ ।
मिराज ढुंगाना समूहले आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । उक्त समूहले ‘जेनजी आन्दोलनलाई धोका दिइएको’ आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने जनाएको छ ।
समूहका अनुसार वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै दबाब सिर्जना गर्न आन्दोलन आवश्यक भएको उनीहरूको भनाइ छ । यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिने स्पष्ट गरेको छ ।
आन्दोलनको घोषणा गर्दै अनुमति माग्न समूहका प्रतिनिधि प्रशासन कार्यालय पुगे पनि अनुमति दिन नसकिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।
सीडीओ पौडेलका अनुसार माइतीघर संवेदनशील क्षेत्र भएकाले सार्वजनिक शान्ति, सुरक्षा र आवागमनलाई असर पर्ने गतिविधिलाई रोक्न यस्तो निर्णय गरिएको हो ।
प्रशासनले कानुनअनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाइने र कुनै पनि अवाञ्छित गतिविधि भए कडाइका साथ नियन्त्रण गरिने जनाएको छ ।














