जनकपुर, ७ पुस । मधेश प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले जनकपुरको मुजेलिया क्षेत्रमा अवस्थित वीर सहिदहरूको स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सभामुख यादवले स्मारकमा फूलमाला अर्पण गर्दै मधेश आन्दोलन तथा लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति सम्मान प्रकट गरे ।
श्रद्धाञ्जली कार्यक्रमका क्रममा सभामुख यादवले सहिदहरूको त्याग, बलिदान र योगदानकै कारण आज संघीय लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गरे ।
उनले सहिदहरूले देखाएको मार्गदर्शनलाई आत्मसात गर्दै मधेश प्रदेशको समृद्धि, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीपछि सभामुख यादवले स्मारक परिसरको अवलोकन समेत गरेका थिए ।














