काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमा निर्वाचन हुनुपर्ने स्पष्ट धारणा राख्दै निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्न सबैलाई खबरदारी गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन नै देशलाई निकास दिने सबैभन्दा सहज र लोकतान्त्रिक विकल्प भएको बताएका हुन्।
उनले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्नेमा जोड दिँदै भने, ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो ।
निर्वाचन बिथोल्ने काम कसैले नगरोस् । प्रचण्डले मुलुकको राजनीतिक स्थायित्व, जनताको मताधिकारको सम्मान र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको उल्लेख गरे ।
उनले निर्वाचनविरोधी गतिविधिले देशलाई झनै अन्योलतर्फ धकेल्ने चेतावनीसमेत दिए । पूर्वदेखि पश्चिमसम्म आयोजना गरिएका एकता सन्देश सभाका क्रममा आम जनता निर्वाचनका लागि मानसिक र व्यवहारिक रूपमा तयार हुँदै गएको आफूले पाएको अनुभव सुनाउँदै प्रचण्डले भने, जनता मात्र होइन राजनीतिक दलहरू पनि निर्वाचनको तयारीमा जुटिरहेको देखिएको छ ।
उनले सबै राजनीतिक शक्तिहरूलाई लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गर्दै संविधान र जनमतको सम्मान गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।
निर्वाचनमार्फत नै जनताले आफ्नो प्रतिनिधि चयन गर्ने अधिकार प्रयोग गर्न पाउने भएकाले त्यस प्रक्रियामा अवरोध नगर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने प्रचण्डको भनाइ थियो ।














