जनकपुर, ४ पुस । मधेश प्रदेशका आठ जिल्लामा खटाइएका ३१ जना घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार घुमुवाका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि उक्त निर्णय लिइएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार घुमुवाका नाममा असुली गर्ने, व्यवसायी तथा सर्वसाधारणलाई अनावश्यक दबाब र धाकधम्की दिने, तथा कानुनविपरीत गतिविधिमा संलग्न भएको भन्ने गुनासो तराईका विभिन्न जिल्लाबाट आएको थियो ।
ती गुनासोले प्रहरी संगठनकै छवि कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै प्रदेश प्रहरीले कडा कदम चालेको जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी संगठनभित्र शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले ३१ जना घुमुवा प्रहरीलाई हटाइएको हो ।
उनले भने, “प्रहरीभित्र अनुशासन र जवाफदेहितालाई मजबुत बनाउने हाम्रो योजना अनुसार यो कदम चालिएको हो । डीआईजी थपलियाका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।
अनुसन्धानका क्रममा दोषी ठहरिएमा सम्बन्धित प्रहरीमाथि कानुनअनुसार विभागीय कारबाहीसमेत गरिने उनले स्पष्ट पारे । प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा घुमुवा प्रहरीको गतिविधिलाई कडाइका साथ निगरानी गर्ने र यस्ता गुनासो दोहोरिन नदिन संरचनागत सुधारसमेत गरिने जनाएको छ ।














