काठमाडौं, ३ पुस । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकमा पेश गरिएको अध्यादेशको मस्यौदा अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची संशोधन गर्ने प्रस्ताव गरिएको छ ।
उक्त संशोधन दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम समुदायको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले ल्याउन लागिएको हो ।
सरकारका अनुसार जनसंख्याको तथ्यांकअनुसार समावेशी प्रतिनिधित्व कायम गर्न विद्यमान कानुनी व्यवस्थामा परिमार्जन आवश्यक भएकाले अध्यादेशको बाटो अपनाइएको हो ।
अध्यादेश जारी भएपछि समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत प्रतिनिधिसभामा समुदायगत प्रतिनिधित्वको आधार स्पष्ट र अद्यावधिक हुने अपेक्षा गरिएको छ ।














