काठमाडौं, ३ पुस । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव, डलरको विनिमय दर तथा लगानीकर्ताको आकर्षणका कारण स्थानीय बजारमा सुनको भाउ उच्च बनेको व्यवसायीहरू बताउँछन् ।
यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनयता चाँदीले लगातार नयाँ उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।














