जनकपुर, २ पुस। मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको प्रदेशसभा सभामुख पदका लागि आगामी पुस ६ गते निर्वाचन हुने भएको छ ।
पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट नयाँ सभामुख चयन गरिनेछ ।
मधेस प्रदेशसभा उपसभामुख बबिता राउतले सभामुख निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको जानकारी दिएकी छन् ।
उनका अनुसार प्रदेशसभा सचिवालयलाई सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिइएको छ ।
प्रदेशसभामा सभामुख पद लामो समयदेखि रिक्त रहँदा विधेयक पारित, छलफल तथा संसदीय गतिविधिहरू प्रभावित हुँदै आएका थिए ।
अब निर्वाचनको मिति तय भएसँगै प्रदेशसभा सञ्चालन पुनः सक्रिय हुने अपेक्षा गरिएको छ । सभामुख चयनका लागि दलहरूबीच आन्तरिक छलफल तथा उम्मेदवार चयन प्रक्रिया तीव्र बनाउने तयारी भइरहेको बताइएको छ ।
पुस ६ गतेको बैठकमा मनोनयन दर्ता, प्रस्ताव–समर्थन र मतदान प्रक्रियामार्फत सभामुख चयन गरिनेछ ।














