एजेन्सी, २९ मंसिर । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भूभाग अन्तर्गत दक्षिण किभु प्रान्तमा पछिल्ला दुई सातादेखि जारी तीव्र लडाइँका कारण करिब पाँच लाख मानिस घरबारविहीन भएका छन् ।
विस्थापितमध्ये एक लाखभन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आइतबारले बताए । युनिसेफले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्र रूपमा बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरेको छ ।
हिंसा अझ फैलिँदै गएकाले आगामी दिनमा विस्थापितको संख्या थप बढ्न सक्ने चेतावनी दिइएको छ । डिसेम्बर २ यतादेखि जारी झडपमा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको जनाइएको छ ।
यस द्वन्द्वको असर छिमेकी मुलुक बुरुन्डीमा समेत देखिएको छ । हिंसाबाट भागेर त्यहाँ पुगेका मानिसको संख्या तीव्र रूपमा बढ्दै गएको बताइएको छ । डिसेम्बर ६ देखि ११ सम्ममा मात्र पचास हजारभन्दा बढी नयाँ शरणार्थी पहिचान गरिएको छ, जसमा करिब आधा बालबालिका रहेका छन् ।
शरणार्थी दर्ता प्रक्रिया जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यसै साता ‘मार्च २३ आन्दोलन’ नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठूलो सहर उभिरा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो ।
यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको कब्जामा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्र बनाइएको थियो । विशेषज्ञहरूका अनुसार उभिरा हातबाट गुमेमा दक्षिणपूर्वी क्षेत्रतर्फ थप मार्ग खुल्न सक्ने खतरा रहेको छ । यसैबीच, बाराका र फिजी क्षेत्रमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबीच झडप जारी रहेको बताइएको छ ।














