काठमाडौँ , २९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सबै राजनीतिक नेतृत्व, जनप्रतिनिधि र सरोकारवालाहरू एकजुट भएर देश विकासमा समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
उहाँले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन नवीन सोच, कार्यशैली र योजनासहित दृढ अठोट, ऊर्जावान्, आचरणशील तथा चरित्रवान् नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार जनताको भरोसालाई इमान्दारितापूर्वक पूरा गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले विगतका अनुभव, पाठ र शिक्षाबाट सिक्दै वर्तमानको आवश्यकता सम्बोधन गर्ने र भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्ने दायित्व वर्तमान नेतृत्वको काँधमा रहेको बताउनुभयो । इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व हाम्रो काँधमा छ ।
वर्तमान समयमा नेपाली जनताले राजनीतिक नेतृत्वबाट इमान्दारी, नैतिकता र उत्तरदायित्वको अपेक्षा गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको आन्दोलन र आवाजले पनि यही चाहना स्पष्ट रूपमा अभिव्यक्त गरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले संघीय व्यवस्थाअन्तर्गत महानगरपालिका लगायत स्थानीय तहको भूमिका झनै महत्वपूर्ण बनेको उल्लेख गर्दै स्थानीय सरकारहरूले जनताको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पु¥याउनुपर्नेमा पनि जोड दिनुभयो ।














