काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकार प्राथमिकताका साथ अघि बढाइरहेको बताएकी छन् ।
जय मातृभूमि पार्टीबाट प्राप्त ज्ञापनपत्र बुझ्दै उनले दलहरूले केवल भाषण र विचारमा सीमित नभई उत्पादन, रोजगार र आर्थिक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।
उनका अनुसार देशमा रोजगारी अभाव र आर्थिक कमजोरीकै कारण युवामा असन्तुष्टि बढेर आन्दोलनसम्म भएको हो । अब पुनः यस्तो स्थिति नआओस् भनेर उत्पादक काम, सुशासन र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनले भनिन् ।
प्रधानमन्त्रीले समृद्धि र सुशासनका लागि प्रतिबद्ध व्यक्तिलाई संसदमा पठाउन नागरिकसँग आग्रह पनि गरिन् ।














