काठमाडौं, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आशंकामा अनुसन्धान चलिरहेको जनाएका छन ।
आयोगले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्र अनुसार तत्कालीन गृहमन्त्री, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक तथा शान्ति–सुरक्षा महाशाखाका अधिकारीहरूबीच गैरकानुनी रकम लेनदेन र बदनियतसहित भिजिट भिसा उपलब्ध गराइएको हुनसक्ने संकेत पाइएको छ ।
सहसचिव तीर्थराज भट्टराईको डायरी र कल डिटेल्सबाट अस्वाभाविक सम्पर्क देखिएको भन्दै गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृह मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरू, शाखा प्रमुखहरू र अध्यागमन विभागका पदाधिकारीबारे पनि अनुसन्धान भइरहेको छ ।
अख्तियारले पेस गरेको विवरणमा घटनाहरू छुट्टाछुट्टै समय र व्यक्तिसँग सम्बन्धित भएकाले अलग–अलग आधारमा अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ ।














