काठमाडौं, २४ मंसिर । जेनजी आन्दोलनका क्रममा भएका गम्भीर घटनाहरू प्रहरी हत्या, सरकारी कार्यालय तोडफोड, चोरी र बैंक लुटपाटमा नाबालकको उल्लेखनीय संलग्नता देखिएको छ ।
प्रहरीका अनुसार काठमाडौंमा चलाइएका ३०७ मुद्दामध्ये १५ नाबालक अभियुक्त छन्, जसमध्ये २ जना प्रहरी हत्या प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन् ।
नाबालकबाट प्रहरीको युनिफर्म, हतियार र अन्य सामग्री बरामद भएको छ भने अर्का नाबालकले प्रहरीमाथि कुटपिट गरी हत्या गर्न सहभागी भएको बयान दिएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका कार्यालय तोडफोड, आगजनी तथा राष्ट्रिय वाणिज्य बैंक शाखामा भएको ३८ करोडभन्दा बढीको लुटपाटमा पनि नाबालकको संलग्नता पुष्टि भएको छ ।
जेनजी आन्दोलनका विषयमा काठमाडौंमै १५ देखि २४ वर्ष उमेरसमूहका युवाको संलग्नता सबैभन्दा धेरै रहेको प्रहरीले बताएको छ ।
देशभर ८५५ जना पक्राउ परेका भए पनि सामान्य प्रकृतिका घटनामा संलग्न नाबालकलाई भने अभिभावकको जिम्मामा छोड्ने प्रचलन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।














