काठमाडौं, १८ मंसिर । आय–व्यय विवरण नबुझाएकामा निर्वाचन आयोगले तोकेको जरिवाना समेत नतिरेका छैटै राजनीतिक दलले आगामी निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका छन् ।
दल दर्ताका लागि निवेदन दिने दलहरूमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चा रहेका छन् ।
यी दलले आर्थिक वर्ष २०८०÷८१ को आय–व्यय विवरण अहिलेसम्म आयोगमा पेस गरेका छैनन् । यसैबीच, २१ फागुनमा निर्धारित निर्वाचन प्रयोजनका लागि उनीहरूले दल दर्ता मागेपछि आयोग यस विषयमा के गर्ने भन्नेबारे आन्तरिक छलफलमा व्यस्त छ ।
हाल आयोगले गत आर्थिक वर्षको विवरण आगामी माघसम्म बुझाउन सकिने व्यवस्था गरेको छ । तर केही दलहरूले अघिल्लो आर्थिक वर्षको विवरण समेत नबुझाएकाले उनीहरूलाई आयोगले जरिवाना तोकेको छ ।
तोकेको जरिवाना नतिरी दर्ता निवेदन लिएर पुगेपछि आयोगले कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न तयारी गरिरहेको छ ।














