काठमाडौं, १८ मंसिर । नेकपा (एमाले)ले आगामी एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा करिब १० हजार स्वयंसेवक तैनाथ गर्ने भएका छन् ।
स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार खुला सत्रमा ठूलो संख्यामा सहभागी हुने भएकाले व्यापक मात्रामा स्वयंसेवक परिचालन गर्न लागिएको हो । उनका अनुसार महाधिवेशनको बन्दसत्रका लागि भने करिब ५०० स्वयंसेवक नियुक्त गरिनेछन् ।
यसपटकको महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर २७ गते भक्तपुरस्थित सल्लाघारीको खुला चौरमा तथा बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । ढकालका अनुसार स्वयंसेवकहरू पार्टीका २४ विभिन्न जनसंगठन तथा विविध समिति मार्फत खटाइनेछन् ।
हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले स्वयंसेवकहरूको समन्वयमा मुख्य भूमिका निर्वाह गर्नेछ । उद्घाटन समारोहका लागि मञ्च तयारीदेखि शौचालय तथा अन्य पूर्वाधार व्यवस्थासम्मका काममा स्वयंसेवक पहिले नै सक्रिय भइसकेका छन् ।
कार्यक्रमका दिन पूर्वतर्फबाट आउने सवारीसाधनका लागि जगातीस्थित इँटा तथा टायल कारखानामा पार्किङ व्यवस्था मिलाइएको छ भने पश्चिमतर्फबाट आउने सवारीसाधनलाई गठ्ठाघर हुँदै कमेरोटार क्षेत्रमा पार्किङ गराइने एमालेले जनाएको छ ।
एमाले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ। महाधिवेशनमा आयोजकसहित जम्मा २ हजार ४०० प्रतिनिधिहरू सहभागी हुने एमालेले जानकारी दिएको छ ।














