एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुग्दै छन् ।
उनी करिब २८ घण्टा भारतमा रहनेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने २३औँ भारत–रूस शिखर वार्तामा रक्षा सहयोग, रूसी कच्चा तेल खरिद, व्यापार घाटा, अमेरिकी प्रतिबन्धको प्रभाव, युक्रेन युद्धसम्बन्धी कूटनीतिक पहल लगायतका विषय प्राथमिकतामा रहनेछन् ।
हैदराबाद हाउसमा दिवाभोज, राजघाटमा श्रद्धाञ्जली तथा भारत–स्थित रूसी सरकारी प्रसारकको च्यानल उद्घाटन पनि पुटिनको कार्यतालिकामा छ ।
भ्रमणका क्रममा श्रम, रक्षा, कृषि, शिक्षा, व्यापारलगायत क्षेत्रमा धेरै सम्झौताहरू हुने अपेक्षा गरिएको छ । शिखर बैठकअघि दुवै देशका रक्षामन्त्रीबीच एस–४०० प्रणाली, लडाकु विमान उन्नयन तथा अन्य सैन्य सामग्री खरिदबारे छलफल हुने छ ।
पुटिन अन्तिमपटक २०२१ मा भारत आएका थिए ।














