काठमाडौं, १७ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अब देशको समग्र नेतृत्व सम्हाल्नुपर्छ भन्ने भावना आफूमा विकसित भएको बताएका छन् ।
‘उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा बोल्दै उनले विदेशमा रहेका नेपालीहरूसँगको भेटघाटले देशप्रति उनीहरूले देखाएको माया र अपेक्षाले आफूलाई नयाँ जिम्मेवारीबारे सोच्न प्रेरित गरेको बताए ।
घिसिङले उज्यालो नेपाल पार्टी गठनको श्रेय अनुप उपाध्यायलाई दिँदै पार्टीलाई विदेशमा रहेका नेपालीहरूको उल्लेखनीय साथ र सहयोग प्राप्त भएको धारणा राखे ।
उनले आफू सदैव संकटको परिस्थितिमा सक्रिय भएर जिम्मेवारी वहन गर्दै आएको स्मरण गराउँदै विद्युत् प्राधिकरण, चिलिमे हाइड्रोपावरजस्ता संस्थागत संकटका क्षणमा आफूले समस्या समाधानका लागि काम गरेको उल्लेख गरे ।
चिलिमेमा स्थानीय हितमा काम गर्दा पनि आफूलाई पदबाट हटाइएपनि जनआन्दोलनपछि पुनः जिम्मेवारीमा फर्किएको उनले स्मरण गरे ।
उनले पछिल्ला राजनीतिक तथा सामाजिक आन्दोलन, विशेषगरी ‘जेनजी आन्दोलन’ले आफूलाई मन्त्री बन्ने अवसर प्रदान गरेको भन्दै त्यसका लागि समर्थन जनाउनेहरूप्रति आभार व्यक्त गरे ।
अब देशले स्थायी समाधान खोज्ने बेला आएको बताउँदै घिसिङले आगामी दिनमा देशको नेतृत्वसमेत गर्ने चाहना प्रकट गरे ।














