काठमाडौं, १७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले अपाङ्गता भएका व्यक्तिका हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा बुधबार काठमाडौंमा आयोजित प्रभातफेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले वर्तमान सरकारको कार्यकाल छोटो रहे पनि अपांग महासंघसँग निरन्तर छलफल गर्दै आवश्यक कानुन तथा ऐन निर्माणको प्रक्रियालाई अघि बढाइने आश्वासन दिए ।
उनका अनुसार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेटका साथ सरकार गठन भएकोले निर्धारित समयमै निर्वाचन सम्पन्न गराउने तयारी पूरा भइसकेको छ। उनले सरकारले चुनावका लागि आवश्यक वातावरण बनाइसकेको दाबी गरे ।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइन्छ । यस वर्षको दिवसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघसहितका विभिन्न संस्थाहरूले काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए। प्रभातफेरीपछि भृकुटीमण्डपमा विशेष कार्यक्रम सम्पन्न भएको थियो।














