जनकपुर, १७ मंसिर मधेश प्रदेशसभामा आज विश्वासको मतका लागि बोलाइएको बैठक मुख्यमन्त्री सरोज कुमार यादव अनुपस्थित भएकाले स्थगित गरिएको छ। बिहान ८:३० मा बोलाइएको बैठक ढिलो शुरू भई १०:३० बजे मात्र सुरु भयो। तर मुख्यमन्त्री तथा मन्त्रीहरू उपस्थित नहुँदा बैठक २ बजेका लागि स्थगित गरिएको हो।
सर्वोच्च अदालतले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश दिएको थियो। अदालतको पत्र मंगलबार प्राप्त भएपछि उनले आजै मत लिन प्रदेशसभालाई पत्रमार्फत आग्रह गरेका थिए।
यादव कात्तिक २३ गते एमालेका संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए। होटलमा भएको शपथ र प्रक्रियागत विवादका कारण विपक्षी सात दल सर्वोच्च अदालतमा पुगेका थिए। यही विवादबीच प्रदेश प्रमुख र सभामुख दुवै पदमुक्त भइसकेका छन्।
मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन ५३ सदस्यको समर्थन आवश्यक पर्नेछ।














