काठमाडौं, १६ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी तथा लुटिएका हतियारका कारण आगामी चुनाव प्रभावित नपारिने स्पष्ट गरेका छन् ।
धनगढीमा गृह मन्त्रालयद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार बरामद गर्ने प्रक्रिया निरन्तर जारी रहेको बताए ।
मन्त्री अर्यालका अनुसार चुनावअघि सबै आवश्यक नियन्त्रण सुरक्षित हुनेछ । उनले हतियार र फरार कैदीबन्दीसम्बन्धी विषयलाई बारम्बार उठाइए पनि यसलाई अनावश्यक रूपमा ठूलो बनाइने प्रयास नहुने उल्लेख गरे ।
मन्त्री अर्यालले भने, ‘पछिल्लो समय फरार कैदीबन्दी समातिने र लुटिएका हतियार फिर्ता हुने दर बढेको छ । यी कारणले चुनावमा कुनै व्यवधान आउँदैन। निर्वाचनलाई प्रभावित हुन नदिने सरकारको स्पष्ट प्रतिबद्धता छ । फरार रहेका व्यक्तिहरूलाई फिर्ता ल्याउन हामी दृढ छौँ ।’














