काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पशुपति आर्यघाटमा आज अन्त्येष्टि सम्पन्न गरिएको छ ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत शाहको ७७ वर्षको उमेरमा मध्यान्ह निधन भएको थियो । उनी दीर्घकालदेखि मधुमेहका बिरामी रहेका थिए र पछिल्ला दिनहरूमा पिसाब संक्रमणले स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले बताए ।
अन्तिम संस्कारका क्रममा मेयर बालेन अत्यन्तै भावुक देखिएका थिए । अस्पतालका चिकित्सकहरूले आज १२ः२० बजे उनको निधन भएको पुष्टि गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर परिवारजनलाई भेटेकी थिइन् ।
बालेनलाई पितृवियोग भएको खबर सार्वजनिक भएपछि मन्त्री, विभिन्न दलका नेता तथा उनका समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म उपस्थित रहे ।
ऊर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलगायतका व्यक्तित्वहरू आर्यघाट पुगेका थिए । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समेत आर्यघाटमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए ।














