काठमाडौं, १२ मंसिर । २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउनेको संख्या बढ्दै गएर १०८ पुगेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार साँझसम्म निर्वाचन प्रयोजनका लागि दर्ता आवेदन दिने दलहरूको संख्या १०८ पुगेको हो । आयोगले दल दर्ता गर्ने समय आइतबारसम्म थपेकाले अझ केही दल थपिन सक्ने अपेक्षा गरिएका छन् ।
हाल आयोगमा दल दर्ताको प्रक्रियामा १६ दल रहेका छन् । ती दलले आवश्यक अधिकारिता प्राप्त गरेपछि निर्वाचन प्रयोजनका लागि दर्ता हुने सम्भावना छ ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा ८४ दलले मात्र भाग लिएका थिए तर यसपटक सहभागितामा उल्लेखनीय वृद्धि भएको आयोगले बताए । उता, निर्वाचन आयोगमा दर्ता भएका दलको कुल संख्या १३९ पुगेको छ ।
बिहीबार मात्र माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् । जेनजी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलहरूको संख्या अहिले २३ पुगेको छ ।














