काठमाडौँ, ११ मंसिर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि छनोट प्रक्रियामा सिंगो पार्टीलाई मार्गदर्शन गर्न सक्षम ऊर्जाशील र जिम्मेवार नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले हालको विषम राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउन महाधिवेशन निर्णायक अवसर हुने उल्लेख गरिन्।
भण्डारीको पार्टी सदस्यता दुई वर्षअघि नवीकरण भइसके पनि नेतृत्वद्वारा रोकिएको कारण उनी महाधिवेशन हलमा भौतिक रूपमा उपस्थित नहुने बताएकी छन्।
तर आफू अझै पनि पार्टी परिवारको अभिन्न सदस्यका रूपमा सदैव साथ रहने उल्लेख गर्दै उनले वैचारिक रूपमा परिपक्व, अनुशासित र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व हुनेगरी प्रतिनिधि चयनमा सबैले उच्च जिम्मेवारीका साथ ध्यान दिनुपर्नेमा जोड दिइन्।
उनका अनुसार विद्यमान चुनौतीपूर्ण राजनीतिक वातावरणबीच हुने यो महाधिवेशनले एमालेलाई सामाजिक–आर्थिक रूपान्तरणतर्फ डोर्याउने ऐतिहासिक अवसर प्रदान गर्नेछ।
देशभक्त, राष्ट्रवादी र प्रगतिशील जनताको विश्वासको केन्द्र रहेको एमालेको महाधिवेशन पूर्ण सफल होस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरिन्।














