जनकपुर, १० मङ्सिर। मधेश प्रदेशकी नवनियुक्त बन तथा वातावरण मन्त्री कञ्चन बिच्छाले पदभार ग्रहण गरेसँगै प्रदेशभरका वातावरण तथा वन क्षेत्रका मुद्दामा सक्रिय संवाद सुरु गरेकी छन्।
यसैक्रममा उनले आज मधेश प्रदेशका आठै वटा जिल्लामा रहेका डिभिजन वन कार्यालयका प्रमुखहरूसँग समग्र वन व्यवस्थापन, संरक्षण तथा वातावरणीय चुनौतीबारे विस्तृत छलफल गरेको मन्त्रालयले जानकारी दिएको छ।
छलफलमा प्रदेशभर बढ्दो जंगल अतिक्रमण, अवैध कटानी, सामुदायिक वनहरूको व्यवस्थापन, जलवायु परिवर्तनको प्रभाव, वन्यजन्तु संरक्षण, दिगो वन उपयोगका कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी विषयहरू प्राथमिकताका साथ उठाइएको थियो।
मन्त्री बिच्छाले वन तथा वातावरण मन्त्रालय प्रदेशका नागरिकको जीवन, जल–जंगल तथा जैविक विविधतासँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले आफ्नो कार्यकालमा प्रभावकारी सुरक्षा, दिगो उपयोग र वैज्ञानिक व्यवस्थापनलाई मुख्य एजेन्डा बनाइने स्पष्ट गरेकी छन्।
उनले सबै जिल्लाका डिभिजन वन प्रमुखलाई जिम्मेवारीपूर्वक काम गर्न र मन्त्रालयसँग नियमित सहकार्य गर्न निर्देशन समेत दिएकी छन्।














